kapuche-trek

कपुचे ट्रेक (Kapuche Trek)

असोज १४, २०७९ – शुक्रवार (30 September, 2022)

खै कताबाट यो वर्ष दशैं बिदामा कुनै नयाॅ ठाउँ ट्रेकिङ जाउ भन्ने जोश चल्यो। साझँसम्म कुनै योजना थिएन। अचानक सुरेशसंग भेट भयो अनि बिदामा घर बस्न भन्दा ट्रेकिङ जाउँ भन्ने दुबैको सहमतिसंगै भोलिपल्ट कपुचे (Kapuche) ट्रेक जाने निर्णय गरियो। तयारी केहि थिएन त्यसैले साथी सुरजसंग (जो ट्रेकिङ गाइड हुन) कुरा भयो अनि धेरै-थोरै आइडिया र ट्रेकिङ स्टिक को बन्दोबस्त पनि।

असोज १५, २०७९ – शनिबार (01 October, 2022)

बिहान ७ बजे दमौली पोखराको लोकल बस चढेर हामी अमरसिंह चोकसम्म अनि त्यहाँबाट ट्याक्सी चढेर काहुँ बसपार्कसम्म पुग्यौँ। काहुँ बसपार्कबाट सिक्लेससम्म जीप चल्ने रहेछ। तर ९ जना यात्रु भए पछि मात्र जीप जाने भएकोले हामी अरु यात्री कुर्दै बस्नु पर्यो। जेनतेन ७ यात्रु भैयो र ७ जनाले ९ यात्रु बराबर भाडा तिर्ने गरि जीप काहुँ बसपार्कबाट सिक्लेसको लागि छुट्यो।

करिब ६ बजे हामी सिक्लेस पुग्यौँ । यात्राकै क्रममा काठमाडौंबाट कोरी (Kori) ट्रेकिङको लागि आउनु भएको दिदी-भाई ट्रेकरसंग चिनजान भयो। उहाँहरुको पनि होटेल भन्दा होमस्टेमा बस्न मन रहेछ। यसैबीच जीपको गुरुजीसंग पनि राम्रै दोस्ती भैसकेको थियो हाम्रो र उहाँकै सल्लाहमा लक्ष्मी दिदीको होमस्टेमा हामी २ जना अनि यात्राका सहयात्री २ जना गरि ४ जना बस्ने भयौं। लक्ष्मी दिदीले अति स्वादिष्ट लोकल खाना खुवाउनु भयो । खाना खाइसकेपछि केहि समय सिक्लेस घुमेर हामी होमस्टेमा फर्कियौँ।

असोज १६, २०७९ – आइतबार (02 October, 2022)

Siklesh Morning

बिहान करिब ५ बजे उठेर हामी तयारीमा लाग्यौँ। लक्ष्मी दिदीले सेल रोटी र अचार तयार गर्दै हुनुहुँदो रहेछ। नास्ता गरेर दिदीसंग बिदा मागी हामीले यात्रा सुरु गर्यौं। कोरी जाने टोलि अलि पछि जाने भयो। मामा (लक्ष्मी दिदीको दाई जसलाई पुरा सिक्लेसले मामा भन्ने रहेछ) केहि परसम्म हामीलाई पुराउन आउनु भयो।

निरन्तर ६ वा ७ घण्टा जति हिडेँपछि लगभग हुगु गोठँ (Hugu Goth) पुग्ने बेला बर्षा भयो। हतार हतार हामी Namaste Guest House पुग्यौँ। Namaste Guest House मा जेठा दाई खाना बनाउदैँ हुनुहुन्थ्यो।

manesh-namaste-guest-house
suresh-namaste-guest-house

हामी खाना कुर्दै थियौँ काठमाडौँबाट आएको अर्को ३ जनाको टोलि पनि आइपुग्यो। उहाँहरुसंग पनि परिचय भयो अनि संगै खाना खाएर पुन गन्तव्य तर्फ लाग्यौँ ।

२ देखि ३ घण्टाको हिडाई पछि हामी Kapuche Lake Malika Hotel पुग्यौँ। कपुचे लेक उक्त होटेलबाट करिब १५, २० मिनेट को दुरीमा छ । कपुचे नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमताल हो जो समुन्द्र सतहबाट २५४६ मिटरको उचाइमा अवस्थित छ ।

Kapuche Lake Malika Hotel पुग्दा लगभग साझँ परिसकेको थियो। हामी होटेलमा सामान राखेर कपुचे तिर लाग्यौँ। आधा घण्टा कपुचे लेकको मनोरम दृश्य अबलोकन गरेर अनि केहि तस्बिरहरु कैद गरेर हामी पुन होटेलमा फर्कियौँ।

असोज १७, २०७९ – सोमबार (03 October, 2022)

बिहान करिब ६ बजे उठेर हामी फेरि कपुचे लेक पुग्यौँ।बिहानीको मिर्मिरेमा कपुचे हिमालको काखमा मुस्कुराई रहेको थियो। हामी तस्बिर खिच्दै थियौँ अचानक हिउँपहिरो गएको दृश्य पनि देख्ने मौका मिल्यो।

दशैँको अष्टमी जसरी पनि आजै घर पुग्न पर्ने थियो । हामी Kapuche Lake Malika होटेल फर्कियौँ र नास्ता गरेर ओरालो लाग्यौँ। फर्किदा पनि हुगु गोठँ (Hugu Goth) मा Namaste Guest House मै खाना खाएर सिक्लेस तर्फ यात्रा तय गरियो। सिक्लेस पुग्दा ४ बजेको थियो। ५ जना मिलेर जीप रिजर्ब गरि हामी करिब ८:३० पोखरा अमरसिंह चोक पुग्यौँ। संयोगले बाग्लुङ देखि काठमाडौंको साझा बस भेटियो। बस चढेर घर पुग्दा ९:३० बजेको हुनुपर्छ। थकाई यति लागेको थियो कि खाना खाएर केहि नहेरी सुतेको भोलि पल्ट मात्र आखाँ खुल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *